अभिनेता पूर्णविक्रम शाह (पल शाह) एक वर्षपछि आज रिहा हुँदैछन्। नाबालिका बलात्कार अभियोग लागेपछि गत वर्षको १५ फागुनमा आत्मसमर्पण गरेका उनी सो मुद्दामा निर्दोष ठहर भइसकेका छन्।
पूर्वी नवलपरासी (नवलपुर) अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गरे पनि उच्च अदालत पोखराबाट सफाइ पाएपछि अभिनेता पल शाह आज छुट्न लागेका हुन्।
आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो।आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकाले पल शाह आज सोमबार रिहा हुन लागेका हुन्। पल शाह रिहा भएलगतै काठमाडौं आउनेछन्।
एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन्।
त्यसको ४ दिनपछि फागुनमा पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए।त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन्। त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो।







