भक्तपुर। सेवाग्राहीलाई हैरानी दिँदै कार्यालयको नियमित कामकाजमै अवरोध पुर्‍याइरहेको आरोपमा भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट ११ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भक्तपुर नगरपालिका–१० मा रहेको उक्त कार्यालयभित्र लेखापढी तथा भूमि सेवा व्यवसायीको आवरणमा प्रवेश गरी सेवा प्रवाहमा असर पुर्‍याउने गतिविधि बढेको भन्दै आएको गुनासोपछि प्रहरी सक्रिय बनेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार सेवाग्राही र कर्मचारीको काममा प्रत्यक्ष असर पार्ने गरी अनधिकृत रूपमा संलग्न रहेकाहरूलाई नियन्त्रणमा लिइएको हो। “कार्यालयभित्रै बसेर अवरोध सिर्जना गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो,” उनले भने।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ। मालपोतजस्ता संवेदनशील निकायमा बिचौलियाको चलखेल रोक्न यस्ता कारबाहीलाई निरन्तरता दिइने पनि प्रहरीले संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय