सिन्धुली – मध्यपहाडी लोकमार्गमा एउटा हाइलेक्स गाडी सुनकोशी नदीमा खस्दा तीनजना बेपत्ता भएका छन्। खोटाङबाट भक्तपुरतर्फ गइरहेको हाइलेक्स गाडी आज साँझ सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भई नदीमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार, दुर्घटनामा सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय चालक अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका छन्।
गाडीमा चारजना सवार थिए। बाँकी एक जना २७ वर्षीय सुशान्त कक्षपति भने गम्भीर घाइते भएका छन्। उनलाई तत्कालै उद्धार गरी स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा भर्ना गरिएको छ।
दुर्घटनापछि बेपत्ता भएका सवारी र यात्रीहरूको खोजीकार्यका लागि प्रहरीको ४० जनाको टोली घटनास्थलमा परिचालित गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी छ।
सवारी नम्बर हालसम्म नखुलेको उक्त हाइलेक्स गाडी किन अनियन्त्रित भई दुर्घटना भयो भन्ने कारण भने अझै स्पष्ट भएको छैन। थप अनुसन्धान जारी रहेको जनाइएको छ।







