राष्ट्रपति र उपराष्टपति निर्वाचन पश्चात् फेरिएको गठबन्धनको कारणले गर्दा नेपाली कांग्रेस सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दलको विवाद सकिएको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियोे ।
सरकारमा सहभागी नभएसम्म प्रतिपक्षीको बेञ्चमा बस्ने कांग्रेसको अडान थियो । एमाले र कांग्रेस दुवैले प्रतिपक्षीमा बस्ने भनेपछि १८ दिनसम्म संसद बैठक स्थागित गरिएको थियो । १७ फागुनमा बोलाइएको संसद बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
आइतबार कांग्रेसले औपचारिक रूपमा सरकारमा जाने निर्णय गरेको छ । ‘आजको संसद बैठकमा सत्तापक्षको बेन्चमा बस्ने स्वयं सिद्ध भयो,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने । एमालेले प्रतिपक्षी बेन्चमा बस्ने औपचारिक पत्र संसद सचिवालयलाई दिइसकेको छ । संसद बैठक आज दिउँसो १ बजे बस्नेछ ।







