एभरेष्ट बैंक लिमिटेडले आफ्नो ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। यस अवसरमा, बैंकले लाजिम्पाट स्थित प्रधान कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै, लामो समयदेखि सेवा गरिरहेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक र कदर पत्र वितरण गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, र संस्कृति प्रबर्धनका क्षेत्रमा सहयोग गर्दै आएको छ। यसै क्रममा, ३० औं वार्षिकोत्सवको अवसरमा, बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पतालको भवन निर्माणका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकका अध्यक्ष बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्रा. डा. भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गरेका थिए।

सामाजिक उत्तरदायित्वको सिलसिलामा, नेपाल रेडक्रस सोसाइटीसँग सहकार्यमा बैंकले रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ, जसमा ४८ जना बैंकका कर्मचारीहरूले सहभागिता जनाएका थिए।

एभरेष्ट बैंक, भारतको पंजाब नेशनल बैंकसँगको संयुक्त लगानीमा स्थापना भएको हो। देशभर १२९ शाखा, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, र १६७ एटिएम मेशीनका साथ करिब १४ लाख ग्राहकहरुलाई आधुनिक मोबाइल र इन्टरनेट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले विभिन्न ३२ स्थानबाट नेपाल सरकारको राजस्व संकलन सेवा पनि गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय