ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच कपिलवस्तु जिल्लामा ३० मेगावाट क्षमताको सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस समझदारीमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार प्राइम पावर लिमिटेडले कपिलवस्तुमा सौर्य विद्युत परियोजना निर्माण गरी संचालन गर्ने छ। प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गका अनुसार परियोजनाबाट उत्पादित विद्युतलाई चनौटा सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोड्ने सम्झौता नेपाल विद्युत प्राधिकरणसँग भइसकेको छ।
यस परियोजना सौर्य उर्जा क्षेत्रमा नेपालकै सबैभन्दा ठुलो क्षमताको परियोजना भएको बताइएको छ। यस समुहका विभिन्न पाँच सौर्य परियोजनाहरुमा ५६ मेगावाट कूल जडित क्षमताको आयोजना रहेकाले, प्राइम पावर लिमिटेडलाई नेपालकै अग्रणी सौर्य उर्जा कम्पनीको रुपमा लिएको छ।
ग्लोबल आइएमई बैंकले नविकरणीय तथा हरित उर्जा उत्पादनमा लगानी प्रवर्द्धन गर्ने लक्ष्यका साथ सौर्य र जलविद्युत परियोजनाहरुमा सर्वसुलभ ब्याजदरमा कर्जा प्रदान गर्दै आएको छ। यो बैंक ७७ वटै जिल्लामा फैलिएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो, जसले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, र अन्य सेवा केन्द्रहरुमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।







