नेपालीहरूले भव्यरुपमा मनाउने बडादसैं पर्व धन, धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाको अवसरमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर यो पर्व मनाइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज शास्त्रअनुसार अखिल बलिपूर्ति अर्थात् सबै बलिपूर्तिको कार्य सम्पन्न भइसकेको छ। यससँगै विजयादशमीको दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने परम्परा पनि समाप्त हुन्छ। आजको दिन जमरा नदी, तलाउ, पोखरी जस्ता पवित्र तीर्थस्थलमा लगी सेलाउने चलन रहेको छ।

दसैं पर्व आश्विन शुक्ल प्रतिपदाबाट सुरु भई आम नेपालीहरूले आ–आफ्नो क्षमता अनुसार मनाउने गर्दछ। आजको दिन महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा रहेको छ। मान्यता अनुसार, जाग्राम बसेका व्यक्तिहरूको घरमा पृथ्वी भ्रमणमा निस्केकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य प्रदान गर्ने विश्वास गरिन्छ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए अनुसार माता दुर्गाका तीनवटा रूपमध्ये एक महालक्ष्मीको पूजा गरिने भएकाले आजको दिन विशेष महत्त्वको हुन्छ। दुर्गा पक्षको समाप्ति विजयादशमीको दिन भए पनि यसको अन्तिम दिन आश्विन शुक्ल पूर्णिमामा समाप्त हुन्छ।

यस दिनलाई कौमुदी पूर्णिमा पनि भनिन्छ, र आजको रात जुवा खेल्ने विधानसमेत रहेको छ। साथै, महालक्ष्मीको पूजा संगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय