बूढानीलकण्ठ – नेपाली कांग्रेसले आज बूढानीलकण्ठ नगरपालिकामा चिया संवाद कार्यक्रमको आयोजना गर्यो, जहाँ समसामयिक राजनीतिक विषयमा केन्द्रित रही गहन छलफल गरियो। कार्यक्रममा विशेष रूपमा राजनीतिमा महिलाको समावेशिता र संगठन निर्माणको विषयमा चर्चा भएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री एवं लुम्बिनी प्रदेश सांसद निमा गिरीले प्रमुख अतिथिको रूपमा सहभागिता जनाइन्। सांसद गिरीले महिलाहरूको राजनीतिमा सक्रिय सहभागिता सुनिश्चित गर्न पार्टीले अझ सशक्त कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिइन्। साथै, उनले संगठन निर्माणमा महिलाहरूको भूमिकालाई बलियो बनाउनुपर्ने र यसका लागि आवश्यक नीति तथा कार्यक्रमहरू अगाडि बढाउनुपर्ने बताइन्।
बूढानीलकण्ठ नगरपालिकाका सचिव बिजेन्द्र श्रेष्ठले पनि कार्यक्रममा सहभागीता जनाउँदै “चिया संवाद “लाई एक प्रभावकारी कार्यक्रमको रूपमा वर्णन गरे। श्रेष्ठले वर्तमान राजनीतिक परिवेशमा यस्ता कार्यक्रमहरू आवश्यक रहेको र यसले पार्टी र संगठन निर्माणमा ठोस योगदान पुर्याउने बताए।
कार्यक्रममा समसामयिक राजनीतिक विषयमा केन्द्रित रही छलफलहरू भए, जसले पार्टीको वर्तमान अवस्थालाई समीक्षा गर्ने अवसर पनि प्रदान गर्यो। कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ताहरू, र महिला नेतृहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आगामी दिनमा यस्ता छलफललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमको समापनमा सबै सहभागीहरूले चिया संवाद जस्ता कार्यक्रमले स्थानीय स्तरमा राजनीतिक सचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेमा सहमति जनाए।







