उपत्यकाका नेवार समुदायले चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिना गुँला पर्व शुक्रबारदेखि सुरु हुने भएको छ ।नेपाल संवत्को गुलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँलापर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथबौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।
नेपाल संवत् अनुसार दसौं महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, अरूको उपकार गर्ने कामलाई जनाउने संस्कृतिविद् डा. चुण्डा बजाचार्यले बताउनु भएको छ । संस्कृतिविद बज्राचार्यका अनुसार गुँला पर्वको अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको बताउँदै विशेषगरी बौद्धमार्गीको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका बताउनुभयो । गुँला पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् ।
“गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो,” .डा. बज्राचार्यले भन्नुभयो, “यो बाजा राँगा वा अर्नाको सिडबाट निर्माण गरिएको हुन्छ ।” पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि
भएको छ । जस अनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा,भुस्या बाजा बजाएर चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवीदेवताको समेत परिक्रमा गर्ने गर्दछ।







