नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटघाटलाई लिएर राप्रपा नेता रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा व्यक्त गरेका टिप्पणीप्रति प्रचण्डको सचिवालयले स्पष्ट असहमति जनाएको छ। अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीलाई “मनगढन्ते” भन्दै यसमा कुनै सत्यता नभएको बताएका छन्।
मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हिजो बिहान खुमलटारमा भएको भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना धारणा राख्नुभएको थियो, तर उहाँले ती आफ्ना विचारलाई फेसबुकमा पोस्ट गर्दै, श्रद्धेय अध्यक्ष प्रचण्डको विचारको रूपमा प्रस्तुत गर्नुभएको छ, जुन पूर्ण रूपमा गलत हो।” मल्लले थपे, “जसले संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियाको नेतृत्व गर्नुभयो, उहाँको नाम जोडेर गलत विषय उठाउनु अनुचित हो।”
मल्लले पञ्चायती निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाले मुलुकलाई अधोगतिमा पुर्याएको यथार्थ मिश्रलाई बुझ्न आग्रह गर्दै भने, “मिश्र सर, यस्तो सस्तो र (अ)राजनीतिक प्रचारबाट टाढा रहनु राम्रो हुनेछ।”
उहाँले थप प्रस्ट्याउँदै भने, “देशलाई समाजवादको मार्गमा अगाडि बढाउन अहिले पनि प्रचण्डको नेतृत्वमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान जारी छ। यस्तो अवस्थामा मिश्रले आफ्नो व्यक्तिगत विचारलाई अध्यक्षको विचार भनेर प्रचार गर्नु राजनैतिक मर्यादाविपरीत हो।”







