प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको चर्चा निराधार भएको बताएका छन्। बुधबार ६९औं प्रहरी दिवसका अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा बोल्दै, उनले अहिलेको गठबन्धन सरकार पूरै अवधि चल्ने स्पष्ट पारे। उनले दशैंपछि सरकार परिवर्तन हुने हल्लामा कुनै सत्यता नरहेको उल्लेख गर्दै, नेपाली कांग्रेस र एमालेको गठबन्धनले निर्माण गरेको दुई-तिहाइको सरकारलाई “खरानीको डल्लो” नभएको बताए।
ओलीले देशलाई परिवर्तन गर्न ठूला दलहरू मिलेर सरकार गठन भएको र यो सरकारले मुलुकलाई स्थिरता प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले आफूले एक वर्ष ९ महिना नेतृत्व गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने योजना रहेको पनि खुलासा गरे। आगामी आम निर्वाचन देउवाको नेतृत्वमा हुने उनले बताए।
प्रधानमन्त्री ओलीले संविधान र वर्तमान प्रणालीको रक्षा गर्दै जनताको अधिकार सुदृढ बनाउन निरन्तर काम गर्ने प्रतिबद्धता जनाए। साथै, उनले प्रहरीसम्बन्धी नयाँ कानुन छिट्टै पारित गर्ने र यसले प्रहरीमा सुधारको नयाँ युगको सुरुवात गर्ने धारणा राखे। गृहमन्त्री रमेश लेखकले पनि आगामी संघीय संसद्को अधिवेशनमा प्रहरीसम्बन्धी नयाँ कानुन निर्माण गर्ने र सुरक्षा संगठनहरूलाई थप सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे।







