झापा, दमक — प्रधानमन्त्री केपी शर्मा ओलीको दमक आगमनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शान्तिपूर्ण हस्ताक्षर संकलन अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ।
दमकस्थित प्रधानमन्त्री ओलीको निजी निवास नजिकै क्याम्पस मोडमा रास्वपाका कार्यकर्ताहरू हस्ताक्षर संकलनमा जुटिरहेका बेला प्रहरीले उनीहरूमाथि माइक खोस्दै हस्तक्षेप गरेको हो। अभियानमा रहेका रास्वपा झापा–५ का सभापति भेषराज भट्टराईका अनुसार, माइकमार्फत हस्ताक्षरको अपील भइरहेकै बेला प्रहरीले आएर माइक खोसेर तोडफोड गरिदियो।
‘के शान्तिपूर्ण ढंगले नागरिकको आवाज उठाउने अधिकार छैन? हामी त सभ्य ढंगले हस्ताक्षर संकलन गरिरहेका थियौँ,’ भट्टराईले भने, ‘प्रहरीले आएर दुर्व्यवहार मात्र गरेन, हाम्रो उपकरणसमेत तोड्यो।’
रास्वपाले केही समयदेखि आफ्ना सभापति रवि लामिछानेमाथि राज्यबाट अन्यायपूर्ण व्यवहार भएको भन्दै नागरिक समर्थन जुटाउने उद्देश्यले हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ।
तर जिल्ला प्रहरी कार्यालय झापाले भने हस्तक्षेपको आरोप अस्वीकार गरेको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्र खड्काले प्रधानमन्त्री भ्रमणका बेला प्रयोग हुने मार्गमा माइकिङ भएकाले केवल सम्झाइ–बुझाइ गरिएको दाबी गरे। ‘यो हस्तक्षेप होइन, प्रधानमन्त्री हिँड्ने बाटोमा माइकिङ गर्नु उपयुक्त नहुने भन्दै सामान्य सम्झाइ–बुझाइ गरिएको मात्र हो,’ डिएसपी खड्काले भने।







