काठमाडौं— नेपाली फिल्म ‘सानो संसार’को टिजर हालै सार्वजनिक गरिएको छ। चलचित्र सानो संसारको कथावस्तुलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गर्दै दर्शकलाई आकर्षित गर्ने प्रयास गरेको छ। नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरि चलचित्र असोज ११गते प्रदर्सनमा आउने छ ।
फिल्मको टिजरमा सहरमा बसोबास गर्ने एक मध्यम वर्गीय परिवारको दैनिक जीवन संघर्ष, आर्थिक समस्याका कारण उत्पन्न हुने पारिवारिक कलह, र सन्तानको विदेश मोहलाई भावनात्मक ढंगले देखाइएको छ। टिजरले फिल्मको दृश्यभाषा बलियो हुनसक्ने संकेत गरेको छ, जसले दर्शकको मनमा गहिरो प्रभाव पार्ने सम्भावना छ।
सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको यो फिल्ममा सीतादेवी तिमिल्सेना, अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, र जीवन गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो फिल्म निर्देशकदेखि कलाकारसम्म सबैको पहिलो फिल्म हो, जसले नेपाली सिनेमामा नयाँ अनुहार र दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ।
‘सानो संसार’को निर्माण अर्जुन कुमारले गरेका हुन् भने कार्यकारी निर्माताको जिम्मेवारी माधव वाग्लेले निभाएका छन्। राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको यस फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको संयुक्त लेखन रहेको छ। फिल्मको छायांकन प्रवीन खड्काले गरेका छन् भने सम्पादन रोमी मोसेस तन्डुकारले गरेका छन्। साथै, कोरियोग्राफी सुजैन खड्का र मनोज खड्काले गरेका छन्।
‘सानो संसार’को टिजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाएको छ, र यसले मध्यम वर्गीय परिवारको जीवन संघर्षलाई पर्दामा देख्न सक्नेछौ ।







