फेसबुकका संस्थापक र मेटा कम्पनीका सीईओ मार्क जुकरबर्ग हाल संसारको तेस्रो धनी व्यक्ति बनेका छन्। मेटाको शेयर मूल्यमा भएको उल्लेखनीय वृद्धिको कारण उनको सम्पत्ति ११ अर्ब डलरले वृद्धि भएको छ, जसले गर्दा उनको कुल सम्पत्ति १७८ अर्ब डलर पुगेको छ। यसले उनलाई युरोपका सबैभन्दा धनी व्यक्ति, एलभिएमएच का बर्नार्ड अरनोल्ट र ओरेकलका अध्यक्ष लैरी एलिसनलाई पछि पार्दै तेस्रो स्थानमा पुर्याएको छ। अब उनीभन्दा अगाडि टेस्लाका एलोन मस्क र अमेजनका जेफ बेजोस मात्र रहेका छन्।
जुकरबर्गको सम्पत्तिको मुख्य स्रोत मेटामा रहेको १३ प्रतिशत शेयर हो। सन् २०२२ मा मेटाको शेयर मूल्य घट्दा उनको सम्पत्ति ६० अर्ब डलरसम्म तल पुगेको थियो, जसले उनलाई धनी व्यक्तिहरूको सूचिबाट झारेको थियो। तर पछिल्लो वर्ष मेटाको शेयरमा भएको करिब ५०० प्रतिशत वृद्धिले जुकरबर्गको सम्पत्ति पुनः माथि उकासेको छ। यस वृद्धिले उनलाई फेरि धनी व्यक्तिहरूको सूचीको शिर्ष स्थानतिर ल्याएको छ।
मेटाको यो सफलताको पछाडि कम्पनीले आफ्नो रणनीतिमा गरेको परिवर्तनको मुख्य भूमिका छ। कृत्रिम बुद्धिमत्ता प्रविधिमा भएको लगानी र विज्ञापन बजारमा सुधारका कारण कम्पनीले लगानीकर्ताहरूलाई सन्तुष्ट पार्न सफल भएको छ। पछिल्लो तिमाहीमा मेटाले विश्लेषकहरूको अपेक्षाभन्दा बढी नाफा र आम्दानी हासिल गरेको थियो, जसले गर्दा शेयर मूल्यमा अचानक उछाल आयो।
जुकरबर्गभन्दा अगाडि रहेका दुई व्यक्तिहरूमा टेस्लाका सीईओ एलोन मस्क, जसको सम्पत्ति २३७ अर्ब डलर छ, र अमेजनका अध्यक्ष जेफ बेजोस, जसको सम्पत्ति २०५ अर्ब डलर छ। यी व्यक्तिहरूको सम्पत्ति पनि उनीहरूका कम्पनीहरूको ठूला हिस्सेदारीबाट आएको हो, मस्कले टेस्लामा करिब १२ प्रतिशत शेयर राखेका छन् भने बेजोसले अमेजनमा ९ प्रतिशत ।
यो सम्पत्ति वृद्धिले जुकरबर्गलाई पुनः चर्चामा ल्याएको छ, विशेषगरी सन् २०२२ मा उनका सम्पत्तिमा भएको ठूलो गिरावटपछि। अब जुकरबर्ग फेरि संसारका धनी व्यक्तिहरूको शीर्ष स्थानमा आफ्नो पकड बलियो गर्दै अघि बढिरहेका छन् ।







