काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी संगठनका अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाले सिप मेला आयोजनाको नाममा १ करोड ३० लाख रुपैयाँको अनियमित भुक्तानी गरेको आरोप लगाएका छन्। उनका अनुसार, महानगरपालिकाले नगरसभाको स्वीकृति बिना नै साइबर ग्रुपलाई यो रकम मनोमानी ढंगले खर्च गरेको हो, जसले सार्वजनिक खरिद ऐनको उल्लंघन गरेको छ।
रकम भुक्तानी गरिएको विवरणअनुसार, सिप मेला कार्यक्रम महानगरको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा समावेश थिएन। बडालले गरेको दाबी अनुसार, १ करोड ३० लाख रुपैयाँलाई १०/१० लाखका टुक्रा बनाई कोटेसनका आधारमा भुक्तानी गरिएको छ, जसले साइबर बुलीहरुको समूहलाई आर्थिक पोषण गरेको छ भन्ने बिद्यार्थी नेताले सामाजिक संजालबाट उक्त विषयको पुष्टि गरेको हो ।
महानगर प्रमुखको यस्तो गतिविधिले काठमाडौं महानगरपालिकाका नागरिकहरूले तिरेको करको रकम अनियमित रूपमा खर्च भएको बडालले बताएका छन्। उनका अनुसार, सिप मेला कार्यक्रमको उद्देश्य नागरिकलाई सीप विकासमा सहारा दिनु भए पनि, यो रकमको सही प्रयोगमा गम्भीर प्रश्न उठेको छ।







