बुढानिलकण्ठ नगरपालिका सार्वजनिक जग्गा र सरकारी सम्पत्ति खोजी तथा संरक्षण गर्न विशेष अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले सार्वजनिक र सरकारी सम्पत्तिको खोजी, संरक्षण, र दुरुपयोग रोकथामको लागि नगरस्तरीय र वडा स्तरीय समितिहरू गठन गरिएको जानकारी दिएको छ।
नगरपालिकाले सूचनामा सबै वडाहरूलाई सम्बन्धित क्षेत्रमा रहेका सार्वजनिक जग्गा वा सरकारी सम्पत्तिहरूको यथास्थिति बुझ्न, अतिक्रमण भएको वा दुरुपयोग भएको छ कि भनेर खोजी गर्न आग्रह गरेको छ। यस्ता सम्पत्तिहरूको संरक्षण गर्न नागरिकहरूलाई पनि सक्रिय रूपमा सहयोग गर्न अनुरोध गर्दै, कुनै अतिक्रमण वा दुरुपयोगका घटना भएमा लिखित, मौखिक, इमेल वा फोन मार्फत सम्बन्धित समिति वा नगरपालिकामा जानकारी गराउन अपिल गरिएको छ।
यो प्रयासले सार्वजनिक सम्पत्तिहरूको संरक्षण गर्दै नगरपालिकाको विकास र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास नगरपालिकाले लिएको छ।







