नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८० / ८१ मा बैंकिङ प्रणालीबाट निक्षेप संकलनको विभिन्न उपकरणमार्फत कुल ४६ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ संकलन गरेको छ। यसमा ११ खर्ब ५१ अर्ब २५ करोड रुपैयाँ बैंकिङ प्रणालीबाट र ३५ खर्ब २२ अर्ब ३५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत संकलित गरिएको हो। यसरी, राष्ट्र बैंकले एक वर्षमा कुल पौने ४७ खर्ब रुपैयाँ उठाएको छ।

बैंकहरूमा अत्यधिक तरलता संकलन भएसँगै वित्तीय स्थिति सन्तुलित राख्न चुनौती उत्पन्न भएको छ। बैंकहरूले प्रवाह गर्ने कर्जा निरन्तर संकुचन भइरहेको छ भने सर्वसाधारणले निक्षेप बैंकहरूमा थुप्रिएका छन्। यस अवस्थालाई व्यवस्थित गर्न राष्ट्र बैंकले विभिन्न नियामकीय उपायहरू लागू गर्दै आएको छ।

गत फागुनदेखि राष्ट्र बैंकले एसडीएफ सुविधा विस्तार गरेर हरेक हप्ताको आइतबार, बुधबार, र बिहीबार तीन दिन बैंकहरूले सिधै राष्ट्र बैंकमा निक्षेप राख्न सक्ने व्यवस्था गरेको छ। प्रारम्भमा यो सुविधा हप्तामा दुई दिनको लागि मात्र थियो, तर तरलता व्यवस्थापनमा कठिनाइहरूको सामना गर्दै अर्को एक दिन थप गरिएको हो।

राष्ट्र बैंकले बैंकहरूको तरलता व्यवस्थापनमा सुधार ल्याउन स्थायी निक्षेप सुविधा र ओभरनाइट तरलता सुविधाको उपयोग गरिरहेको छ। यस वर्ष, बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत ८ खर्ब ३ अर्ब ५६ करोड रुपैयाँ प्रयोग गरेका छन्। यसरी, कुल ८ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ तरलता प्रयोग गरिएको छ।

अघिल्लो वर्षको तुलनामा, यस आर्थिक वर्षमा कुल ३८ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ तरलता प्रशोचन भएको छ, जबकि अघिल्लो वर्षमा ५४ खर्ब ०९ अर्ब ९९ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।

राष्ट्र बैंकले तरलता व्यवस्थापनमा लचकता ल्याउन र बैंकहरूको वित्तीय स्थिति सन्तुलित राख्न विभिन्न उपायहरू अपनाइरहेको छ। यसपटक, केन्द्रिय बैंक विशेष रूपमा अधिक तरलताको व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै बैंकहरूको तरलता स्थिति सुधार गर्न लागिपरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय