भारतमा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार राति मुम्बईको बान्द्रा पूर्व क्षेत्रमा उनीमाथि कैयौँ राउण्ड गोली हानेर हत्या गरिएको हो।
गोली प्रहारबाट गम्भीर घाइते भएका सिद्दिकीलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरे। छोराको कार्यालयतर्फ जाँदै गर्दा उनीमाथि आक्रमण भएको बताइएको छ।
घटनापछि प्रहरीले दुईजनालाई पक्राउ गरेको छ, जसमा एकजना हरियाणा र अर्का उत्तर प्रदेशका भएको मुख्यमन्त्री एकनाथ शिन्देले जनाएका छन्।
बाबा सिद्दिकीले करिब पाँच दशक कांग्रेस पार्टीमा राजनीति गरेपछि यसै वर्षको फेब्रुअरीमा कांग्रेस छोडेर एनसीपीको अजित पवार पक्षमा प्रवेश गरेका थिए।







