नया मन्त्रिपरिषद्को पहिलो निर्णयमा अर्थतन्त्रका समस्या र नागरिकले प्राप्त गर्ने आधारभुत सेवामा सुधार गरिने ।
सोमबार आठ सदस्यीय मन्त्रिपरिषद् गठनलगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको पहिलो बैठकले अर्थतन्त्रका समस्या समाधानदेखि आधारभूत सेवा प्राप्तिमा नागरिकले झेल्दै आएका सास्ती न्यूनीकरण गर्नेसम्मका निर्णय गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रिपरिषद्ले पाँचवटा विषयमा निर्णय गरेको बताए । त्यसमा तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको संकुचन तथा पुँजीबजारको गिरावटका समस्या सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने, राजस्व चुहावट नियन्त्रण र त्यसका लागि राजस्व प्रशासनमा पुनर्संरचनालगायतका विषय छन् । त्यस्तै, सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, नागरिकलाई प्रदान गर्ने आधारभूत सेवालाई सरल बनाउने र विकास परियोजनाका व्यवधान हटाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।







