स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाँसबारी-बूढानीलकण्ठ सडकखण्डको मर्मत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। बुधबार निरीक्षणका क्रममा मन्त्री पौडेलले सम्बन्धित निकायका अधिकारीहरूलाई मर्मत कार्यमा ढिलाइ नगर्न आदेश दिए।
मन्त्री पौडेल यहि क्षेत्रबाट निर्वाचनमा विजय भएको हुनाले पनि यहि क्षेत्रको सांसदसमेत रहेका मन्त्री पौडेलले सडक मर्मत ढिलो हुँदा जनताले सास्ती भोग्नुपरेको भन्दै काम चाँडो सम्पन्न गर्न सम्बन्धित निकायमा अधिकारीहरूलाई विशेष निर्देशन दिए। उनले भने, “सडकको मर्मत कार्य लामो समयदेखि अल्झिएको छ, अब यसलाई छिट्टै सक्न जरुरी छ।”
मन्त्रीको निर्देशनपछि सम्बद्ध अधिकारीहरूले एक-दुई दिनभित्र सडकको कालोपत्रे कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बाँसबारीदेखि बूढानीलकण्ठसम्मको मुख्य सडकखण्ड मर्मतका क्रममा धेरै ठाउँमा खानेपानी र विद्युत् विस्तारका कारण सडक भत्काइएको थियो, जसले यातायातमा अवरोध सिर्जना गरेको थियो।
त्यस्तै, चक्रपथ नारायणगोपाल चोकदेखि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रसम्मको सडकखण्ड नेपाल विद्युत् प्राधिकरणको जिम्मामा रहेको छ। प्राधिकरणले उक्त खण्डको कालोपत्रे कार्य चाँडै सम्पन्न गर्ने योजना रहेको बताएको छ।
सडक मर्मतमा देखिएको ढिलाइ तीन निकाय— सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना, र नेपाल विद्युत् प्राधिकरणबीच समन्वयको अभावका कारण भएको मन्त्री पौडेलले औंल्याए। उनले यी निकायहरूलाई यथाशीघ्र समन्वय गरी मर्मत कार्य सम्पन्न गर्न आग्रह गरेका थिए।मन्त्री पौडेलको निरीक्षणपछि सहिद गंगालाल केन्द्रअगाडिको ३ सय मिटरको सडक खण्डमा कालोपत्रे कार्यको तयारी सुरु गरिएको छ।







