गृह मन्त्रालयले मिटरब्याज सम्बन्धि उजुरी दर्ताका लागि सबै मिटरब्याज पीडितहरूमा सार्वजनिक सूचना जारी गरिएको छ।
सूचनामा मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि गरेको शोषणको श्रृङ्खलाले सयौं परिवारको विचल्ली भएका समाचारहरू सार्वजनिक भैरहेका छन्। त्यस्ता आर्थिक अपराधीहरूलाई कानूनको दायरामा ल्याई कारवाही गर्ने प्रकृया पनि चलिरहेको छ तर पनि अझै धेरै पीडितहरूले आफ्नो पीडा सार्वजनिक गर्न वा कानूनी उपचारको लागि पहल गर्न नसकेको अवस्था छ।
मिटरब्याजी अपराध नियन्त्रणका लागि सम्माननीय प्रधानमन्त्रीज्यूबाट गम्भीरतापूर्वक पहलकदमी लिई मिति २०७९।०४।२७ गते माननीय गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन भै सकेको छ। कार्यदल गठन भएको एक घण्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतिघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको “मिटर व्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समिति सँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको
उपस्थितिमा कार्यदलले वार्ता समेत गरिसकेको छ।
यो समस्या नवलपरासीमा मात्र नभै तराईका अधिकांश जिल्लाहरूमा रहेको गुनासो प्राप्त भएको भएतापनि देशैभरी मिटरब्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषण विरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा मिति २०७९/०५/०५ भित्र यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्नुहुन भनी सार्वजनिक सूचना जारी गरिएको हो।







