काठमाडौंको भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारबाट सुरु भएको छ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले रिबन काटेर कार्यक्रमको उद्घाटन गरे। यो तीन दिने प्रदर्शनी मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त पहलमा आयोजना भएको हो, जुन भदौ २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ।
मिडिया स्पेस सोलुसन्सका प्रवन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार प्रदर्शनीमा १५० भन्दा बढी स्टल राखिएका छन्, जसमा स्वदेशी तथा विदेशी कम्पनीहरूको सहभागिता रहेको छ। उनले यस प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिव्युसन उपकरणहरू, उर्जा आपूर्ति र नियन्त्रण प्रणाली, हाउस वायरिङ्ग सामग्री, वायर, केबुल, कण्डक्टर, एलईडी लाइट, इलेक्ट्रोनिक्स उपकरणहरू र चार्जिङ्ग स्टेसन जस्ता अत्याधुनिक प्रविधिका सामग्रीहरू प्रदर्शनमा राखिएको बताए।
प्रदर्शनीको मुख्य उद्देश्य भनेको नेपालमा उत्पादित जलविद्युतलाई विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग गर्ने सन्देश प्रवाह गर्नु र यसले देशको आर्थिक सशक्तिकरणमा योगदान पुर्याउनु हो। साथै, यस प्रदर्शनीले विद्युतीय व्यवसायीहरूलाई समग्र विकास र व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने अपेक्षा गरिएको छ। प्रदर्शनीले विद्युतीय उपकरण तथा सेवाहरूको प्रविधिगत विकास, आपूर्ति शृंखला विस्तार, र स्वदेशी उत्पादनको बढावा दिन महत्त्वपूर्ण योगदान दिने विश्वास छ।
प्रदर्शनीमा सहभागीहरुले नवीनतम प्रविधिहरू अवलोकन गर्न, सम्भावित साझेदारहरूसँग प्रत्यक्ष भेटघाट गर्न, र व्यावसायिक अवसरहरूको खोजी गर्न सक्नेछन्।







