काठमाडौं,असोज – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको आदेशअनुसार साइबर ब्यूरोलाई विद्युतीय अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि प्रसाईंलाई हिरासतमा राख्न आदेश दिइएको हो।
साइबर ब्यूरोले आइतबार उनलाई भक्तपुरस्थित आफ्नै घरबाट विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा पक्राउ गरेको थियो। मंगलबार प्रसाईंसँग बयान लिइएको थियो भने प्रहरीको अनुसन्धान जारी छ।
प्रसाईंविरूद्ध सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट अनधिकृत काम गरेको आरोपमा उजुरी परेको थियो। घटनासँगै उनका छोरा निराजन प्रसाईंले सोमवार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए, जसमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।
अनुसन्धानका लागि साइबर ब्यूरोले आवश्यक समय माग गरेको थियो, जसलाई अदालतले स्वीकृति दिएको छ।







