काठमाडौँ, भदौ २२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले शनिबार भ्रष्टाचारविरुद्ध कडा धारणा राखे। सिन्धुली-काठमाडौँ सम्पर्क विभाग गठन र बृहत् भेलामा सम्बोधन गर्दै उनले पार्टीले भ्रष्टाचारमा संलग्न हुने विचार नगरेको र यस्तो कुरा हुने खण्डमा कडा कारवाही गर्ने चेतावनी दिएका छन्।
अर्यालले भनें, “हामी जनतालाई केही दिन्छु भनेर आएका छौँ, भ्रष्टाचार गर्न नसक्ने र भ्रष्टाचारको फाइलहरू खुल्दा राजनीतिक पेशा बनाएका व्यक्तिहरु तर्सिएका छन्। हामी विचलित हुनेवाला छैनौं, परिमार्जन गरेर अगाडि बढ्नेछौं।”
उनले पार्टीका नेताहरूले भ्रष्टाचार गरे भने त्यसको स्पष्ट सन्देश दिँदै थपे, “यदि रास्वपा का नेताहरूले भ्रष्टाचार गरे भने अथवा भ्रष्टाचार गरेको प्रमाणित भए, त्यसलाई जोगाउन सकिँदैन।”
उपसभापति अर्यालले भ्रष्टाचारविरुद्धको आफ्नो प्रतिज्ञा कायम राख्ने र पार्टीका प्रमुख सन्देशलाई परिपूर्त गर्ने बताए। “हामी २०७९ साल असार ७ गते पार्टी सभापति रवि लामिछानेले जे भनेका थिए, त्यहीँ अडिक छौं। भ्रष्टाचारलाई हटाउनकै लागि स्थापित भएका हौं र कुनै पनि अवस्थामा विचलित हुने छैनौं,” उनले भने।







