काठमाडौं – प्रतिनिधि सभामा बुधबार एमाले सांसद योगेश भट्टराईको विवादास्पद टिप्पणीले संसदीय कार्यवाहीमा ठुलो वादविवाद सिर्जना भएको छ। भट्टराईले माओवादी आन्दोलनलाई ‘हिंसा’को संज्ञा दिएका थिए, जसले माओवादी केन्द्रका सांसदहरूलाई आक्रोशित बनायो।संसदको विशेष समयमा विद्युत् बक्यौताको विषयमा बोल्दै भट्टराईले माओवादी आन्दोलनलाई हिंसा भनेर परिभाषित गरेपछि माओवादी केन्द्रका सांसद माधव सापकोटाले कडा आपत्ति जनाए। सापकोटाले नियम आपत्ति गर्दै भट्टराईको अभिव्यक्तिप्रति गम्भीर असहमति व्यक्त गरे, जसले गर्दा दुवै दलका सांसदहरू उठेर विरोध जनाउन थाले।

माओवादी सांसदहरूको विरोधको जवाफमा भट्टराईले आफ्नो अभिव्यक्तिलाई सही ठहर गर्दै भने, “माओवादीले नमाने पनि यो हिंसा हो, हाम्रो राजनीतिक धारणा हो। अर्कालाई बोल्न नदिनु पनि हिंसा नै हो।” उनले थप भने, “मान्छे मार्नु, लुटपाट गर्नु, चन्दा आतङ्क मच्चाउनु, सेनालाई मार्नु, निहत्था जनतालाई मार्नु पनि सबै हिंसा हो।”

माओवादी सांसद देवेंद्र पौडेलले नियम आपत्ति गर्दै भट्टराईको अभिव्यक्ति संविधान र शान्ति प्रक्रियाको विपरीत भएको बताएका थिए। उनले भट्टराईको ‘हिंसा’ सम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरे। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले पनि रेकर्डबाट ‘हिंसा’ शब्द हटाउन जोड दिए।

सभामुख घिमिरेले हिंसा शब्द असंसदीय हो वा होइन भन्ने निर्णय गर्न सचिवालयलाई निर्देशन दिए। तर, यसपछि पनि माओवादी सांसदहरूको होहल्ला रोकिएन।

विवाद बढ्दै जाँदा एमाले सांसद रघुजी पन्तले समय लिँदै हिंसा भन्ने शब्द ठीक रहेको जिकिर गरे। त्यसपछि माओवादी प्रमुख सचेतक पाण्डेले पुनः नियमावली अनुसार नियम आपत्ति जनाउँदै संसदको सञ्चालनमा माग राखे। अन्ततः माओवादीका सांसद रणेन्द्र बराइलीलाई विशेष समयमा बोल्न दिइएपछि सदनको अवस्था केही शान्त भएको थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय