काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ।
बुधवार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच औपचारिक सम्झौता भएको हो। सम्झौतामा मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे।
सम्झौतापछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावका कारण उपयोगमा आउन नसकेका उपकरणलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याइने विश्वास व्यक्त गरे। उनले भने, “हामीसँग सीमित स्रोत साधन छन्। तत्काल नयाँ उपकरण खरिद गर्न सक्ने अवस्था नभएकाले यस कदमले अस्पतालमा उपचार सेवा सहज बनाउनेछ। थन्किएका उपकरणहरू मर्मतपछि पुनः प्रयोगमा ल्याउन सकियो भने ठूलो खर्च हुने छैन।”
मन्त्री पौडेलले यस पहलबाट अस्पतालहरूमा उपकरण उपलब्धता सुनिश्चित हुने र राज्यको खेर गइरहेको सम्पत्तिको सदुपयोग गर्दै बिरामीहरूलाई पनि लाभ पुग्ने विश्वास व्यक्त गरे। उनले उपकरण खरिदका लागि हुने खर्चसमेत यसले कम गर्ने आशा व्यक्त गरे।
यो सम्झौतासँगै सरकारी अस्पतालहरूमा उपकरण मर्मतको काम थप प्रभावकारी र दिगो हुने अपेक्षा गरिएको छ ।







