प्रहरीले २७ वर्षीय सञ्जय रेग्मीलाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको छ ।रेग्मीले अष्ट्रेलिया पठाइदिन्छुभन्दै रकम ठगी गरेको अभियोग लागेको छ । उनी चितवनको भरतपुर महानगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–१ लाजिम्पाटमा बस्दै आएका थिए । प्रहरीले रेग्मीलाई आइतबार पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौं महानगरपालिका–१ लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक रेग्मी समेतले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि अष्ट्रलिया पठाइ प्रतिष्ठित कम्पनीमा ३ लाख रूपियाँभन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भनेका थिए ।प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ३० लाख रूपियाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो ।

प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१ दरबारमार्गबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

यता, दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तनहुँको भीमाद नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २६ वर्षीय मनबहादुर कुमाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।कठमाडौं महानगरपालिका–२६ स्थित यूरो टेक कन्सलटेन्सी प्रालिका मार्केटिङ मेनेजर कुमालले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि दुबइ पठाउने भनेर ठगी गरेका थिए ।

कुमालले प्रतिष्ठित कम्पनीमा ६० हजार रूपियाँभन्दा बढी तलब हुने काम लगाइदिन्छुभन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ३ लाख ५० हजार रुपियाँ लिई ठगी गरेका थिए ।उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो । प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय