नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएका सबै सांसदहरुलाई फिर्ता बोलाउने भएको छ। २०७८ असार २९ मा प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि नेकपा एसले आफ्नो पार्टीबाट एक राज्यमन्त्रीसहित ६ जनालाई मन्त्री बनाएको थियो।
पछिल्लो समय नेकपा एसको सिफारिसमा गोबिन्द बन्दीलाई कानुन तथा संसदीय मामिला मन्त्री बनाइएको थियो। नेकपा एसको आइतबार बसेको सचिवालय बैठकले बन्दीबाहेक अन्य पाँच जनालाई फिर्ता बोलाउने निर्णय गरेको हो।
नेकपा एसको उक्त निर्णयसँगै स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ, सहरी विकासमन्त्री रामकुमार झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ फिर्ता हुने भएका हुन्।
पार्टीले आगामी संसदीय निर्वाचनसम्मका लागि उक्त स्थानमा अन्य सांसदलाई पालो दिनका लागि नयाँ नाम पठाउने भएको छ।







