नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् पहिलो चरणमा प्रधानमन्त्रीसहित आठ सदस्सीय बनेको छ । प्रधानमन्त्रीका रूपमा सोमबार नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।तत्कालका लागि प्रचण्डले प्रधानमन्त्रीसँगै उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा जलस्रोत तथा सिँचाइ, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपक्षी विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने गरी राष्टपति विद्यादेवी भण्डारीले कार्यविभाजन गर्दै जिम्मेवारी दिएकी छन् ।

सोमबार नै पहिलो चरणमा मन्त्रिपरिषद्लाई प्रधानमन्त्रीसहित आठ सदस्सीय बनाइएको हो । सरकारमा प्रचण्डलाई तत्काल सात मन्त्रीको साथ हुने छ । प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएसँगै सरकारमा तीन जना उपप्रधानमन्त्रीसहितका अन्य मन्त्रीलाई पनि राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

उपप्रधानमन्त्रीसहितको जिम्मेवारी पाउनेमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

मन्त्री नियुक्त एमालेका ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खानको मन्त्रालय तोकिन बाँकी छ । उपप्रधानमन्त्री बनेका लामिछानेसहित पाँच जना सरकारमा नयाँ अनुहार हुन् । तीन उपप्रधानमन्त्रीमध्ये पौडेल र श्रेष्ठले यसअघि पनि सरकारमा उपप्रधानमन्त्री भएर काम गरिसकेका छन् ।

सरकारमा प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री पौडेल छन् । त्यसपछि उपप्रधानमन्त्री श्रेष्ठ र लामिछानेको वरीयता निर्धारण भएको छ । सरकार विस्तार नहुँदासम्म प्रधानमन्त्री प्रचण्डको जिम्मामा १८ मन्त्रालय परेको छ ।

प्रचण्ड प्रतिनिधिसभा दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दलको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार आइतबार प्रतिनिधिसभाका १ सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।गत ४ मंसिरमा सम्पन्न प्रतिनिधसभा निर्वाचनमार्फत प्रतिनिधिसभामा कुनै पनि एक दलको बहुमत नआएपछि संविधानमा ब्यवस्था गरिएअनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय