नेकपा एकीकृत समाजवादीका प्रवक्तासमेत रहेका उपहासचिव जगन्नाथ खतिवडाले कुनै पनि राजनीतिक दलसँग पार्टी एकता गर्ने प्रक्रियाअघि नबढेको स्पष्ट पारेका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय भइनसकेको उनले जानकारी दिए ।
एमालेसँग पार्टी एकता हुन लागेको चर्चा चलिरहेका बेला बिहीबार एक वक्तव्य जारी गर्दै उनले कुनै पनि पार्टीसँग एकता प्रक्रिया अघि नबढेको बताएका हुन् । बजार हल्लाको भ्रममा नपरौँ । हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी कुनै पार्टीसँग एकीकरण गर्ने गरी अगाडि बढेको छैन,’ उनले भनेका छन्, ‘ कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन ।’
पार्टीले सुद्धृढीकरणको योजना बनाइरहेको र पार्टी विस्तारका अभियानहरु कसरी अगाडि बढाउने भनेर विचार विमर्श चलिरहेको बताएका उनले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरु आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए ।







