नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे तीन महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरूले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी दिएका छन ।
एसएसपी केसीले संचार माध्यमहरुलाई दिएको जानकारी अनुसार भारतीयहरूले नेपालको सिरहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको छ भने पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शङ्खमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता रहेको छन त्यसैगरी बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोङ्गबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलङ्की बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मीनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता रहेको बताउनुभयो ।
एसएसपी केसीले उनीहरूलाई शनिबार काठमाडौंको शङ्खमुल, कलङ्की, बागबजार, गंगबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएका हुन । एसएसपी केसीले भारतीयहरूले वंशजको आधारमा नै नागरिकता दिएर नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय समेत गर्दै आएको भेटिएको बताउनुभयो ।







