वैदेशिक रोजगारीसम्बन्धी सेमिनारका लागि काठमाडौं आएका दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अनाधिकृतरूपमा सेमिनार गर्न लागेको भन्दै प्रहरीले नक्सालस्थित मेरियट होटलबाट उनीहरूलाई पक्राउ गरेको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालका अनुसार पक्राउ पर्नेमा बेलारुसका ३० वर्षीया महिला र ३७ वर्षीय रहेका छन्। उनीहरूले टिकटकमार्फत् विज्ञापन गरेर पोल्यान्डको रोजगारीबारे सेमिनार गर्न लागेका थिए। उनीहरूले करिब ५ हजार नेपालीहरूको सहभागीता हुने भन्दै होटल बुक गरेको प्रहरीले जनाएको छ।
उक्त सेमिनारबारे सरकारी निकायहरूलाई खबरसमेत नगरेको भन्दै वैदेशिक रोजगार विभागसँग समन्वय गरी पक्राउ गरिएको प्रवक्ता रिजालको भनाइ छ। उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त मालीगाउँमा राखिएको छ।







