काठमाडौं : सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताहरूसँग छलफल गर्ने भएका छन्।
सभामुख घिमिरेले बिहान ११ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन्।
संसदीय समितिका सभापति चयन र संसद्लाई अझ प्रभावकारी बनाउने विषयमा सभामुखले शीर्षनेतासँग छलफल गर्न लागेका हुन्।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी हुने छन्।
गत वैशाख १५ गते प्रतिनिधिसभाका १० विषयगत समिति गठन भएको थियो। समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक शुरु भएको थियो। तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल गर्न सकेका छैनन्।
प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।







