सरकारले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठक बसेको मङ्गलवारको मितिमा मुख्यसचिव डा। वैकुण्ठ अर्यालले शुक्रबार रिक्त सातमध्ये ६ परराष्ट्रका ६ जना सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिस निर्णयमा हस्ताक्षर गरेका हुन् ।
राष्ट्रसङ्घीय नियोग जेनेभाका लागि परराष्ट्रमा दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव रामप्रसाद सुवेदी सिफारिसमा परेका छन् । उनी दिल्लीस्थित नेपाली दूतावासको उपनियोगका रूपमा काम गरेर फर्केका थिए ।
सहसचिव सुधीर भट्टराई फ्रान्सका लागि राजदूतमा सिफारिस भएका छन् । उनी हाल प्रमुख शिष्टाचार महापाल रहेका छन् । यसैगरी सहसचिव धनबहादुर ओली थाइल्यान्ड, तेजबहादुर क्षेत्री युएई र घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् ।
सरकारले क्यानडाका लागि राजदूतमा भने सिफारिस गरेको छैन । कार्यकाल सकेर क्यानडाबाट राजदूत भृगुप्रसाद ढुङ्गाना स्वदेश फर्किसकेका छन् । सम्भवतः कुनै ब्यालेन्स मिलाउन यो पद रिक्त राखिएको स्रोतको भनाई छ ।
हालै न्युयोर्कबाट अमृतबहादुर राई, जेनेभाबाट मणिप्रसाद भट्टराई, युएईबाट कृष्णप्रसाद ढकाल, कुवेतबाट दुर्गाप्रसाद भण्डारी र फ्रान्सबाट दीपक अधिकारी कार्यकाल सकेर फर्किएका छन् ।







