बुढानीलकण्ठ नगरपालिका – बुढानीलकण्ठ नगरपालिकाले नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण वडाहरूका सार्वजनिक जग्गा तथा सरकारी सम्पत्तिको संरक्षण र प्रभावकारी उपयोगबारे बृहत छलफल कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रम नगरपालिकाको सार्वजनिक जग्गा तथा सरकारी संरक्षण र उपयोग नगर समितिका अध्यक्ष लक्ष्मी प्रसाद संग्रौलाको संयोजकत्वमा सम्पन्न भएको हो।
कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, मालपोत कार्यालय चाबहिलका अधिकृत दीपेन्द्र कुमार खत्री, नगरपालिकाका पूर्व उपप्रमुख रमादेवी राई, विभिन्न वडाका वडा अध्यक्षहरू, वडा सदस्यहरू, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जका प्रतिनिधि, विभिन्न वडाका सामुदायिक वन संरक्षण समिति तथा उपभोक्ता समितिका अध्यक्ष एवम् सदस्यहरू, नगरपालिकाका महाशाखा/ शाखाका कर्मचारीहरू लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रमको क्रममा नगरपालिकामा रहेका सार्वजनिक स्थल, जग्गा, लगायत सम्पूर्ण सरकारी सम्पत्तिको संरक्षणमा हालसम्म देखिएका समस्या, चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो। उपस्थित सहभागीहरूले यस्ता सम्पत्तिको संरक्षणका लागि भावी योजनाहरूलाई अझ प्रभावकारी बनाउँदै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। छलफलमा आगामी दिनहरूमा नगरपालिकाले समन्वय र सहकार्य गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।
समितिका अध्यक्ष लक्ष्मी प्रसाद संग्रौलाले हालसम्म भएका समस्याहरूको समाधान र भावी योजनाहरूको कार्यान्वयनका लागि सरोकारवाला निकायहरूसँगको सहकार्यलाई अझै सुदृढ गर्नुपर्ने बताए। प्रमुख अधिकारीले नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणमा जनताको सहभागिता बढाउँदै लैजाने योजनाको बारेमा जानकारी गराए।
यस छलफल कार्यक्रमले नगरपालिकाको सार्वजनिक सम्पत्ति संरक्षण र उपयोगलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।







