काठमाडौं महानगर प्रमुख बालेन शाह ले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि गम्भीर आरोप लगाएका छन्। सामाजिक संजालमार्फत बालेनले जानकारी दिएका छन् कि सांसद रेखा शर्माले विगत ८ वर्षदेखि एक नाबालिकालाई घरेलु कामदारको रूपमा बन्दी बनाएर हिंसा गर्दै आएकी छन्। दिनहुँ कुटपिट गर्ने, बाल शोषणमा संलग्न रहेको र अदालतले समेत यस विषयमा मुद्दा चलाउन निर्देशन दिए पनि सरकारले कारबाही प्रक्रिया अघि नबढाएको आरोप बालेनले लगाएका छन्।
बालेनका अनुसार काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन प्रयत्न गरे पनि सरकारले यस मामिलामा कुनै कदम चाल्न सकेको छैन। यो सन्दर्भमा बालेनले प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई लक्षित गर्दै प्रश्न गरेका छन्, “प्रधानमन्त्री ओलीज्यू, सुशासनको अर्थ तपाईंका सांसदले बाल शोषण गरेको मुद्दामा समाउन आदेश दिएपछि पनि कुनै कारबाही नगर्नु हो? कि, बालिकाको मृत्यु भएपछि मात्र गोहीको आँसु चुहाउँदै फेसबुकमा समवेदना दिनु र एक लाख रुपैयाँ घोषणा गर्नु नै सुशासन हो?”
बालेनले आफ्नो सामाजिक संजाल पोस्टमा यो गम्भीर प्रश्न उठाउँदै सरकारको निष्क्रियता र अदालतको आदेशको अवज्ञा गर्ने सांसदलाई कहिले समाउने भन्ने प्रश्न उठाएका छन्।
देशभर यो विषयले व्यापक चर्चा पाएको छ, र जनताले प्रधानमन्त्री ओलीसँग तत्काल कारबाहीको माग गरेका छन्। सुशासन र कानूनी प्रक्रिया पालनामा सरकारको जिम्मेवारीलाई जनताले बलियो आधारमा प्रश्न गरिरहेका छन्।








