प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रमा भाग लिन न्युयोर्कमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको छ। मोदीले उक्त भेटको तस्बिर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै, यो भेटलाई भारत-नेपाल सम्बन्धको थप सुदृढीकरणको संज्ञा दिएका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटले भारत-नेपाल सम्बन्धलाई अझ बलियो बनाएको छ। हामीले उर्जा, प्रविधि, र व्यापारसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूमा छलफल गर्यौँ, जसले दुवै देशको आर्थिक र प्राविधिक सहयोगलाई थप गतिशील बनाउने छ।”
यस भेटमा विशेष गरी नेपाल-भारतबीचको उर्जा साझेदारीलाई विस्तार गर्ने, प्राविधिक सहयोगलाई प्रगाढ बनाउने, र व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विषयमा गहन छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री ओलीको न्युयोर्क भ्रमणले संयुक्त राष्ट्रसङ्घको ‘समिट अफ द फ्युचर’ सत्रमा नेपालको सक्रिय भूमिका प्रदर्शन गरेको छ भने भारतीय प्रधानमन्त्रीसँगको यो भेटलाई दुई देशबीचको आपसी सहयोग र विश्वासलाई अझ प्रगाढ बनाउने अवसरका रूपमा हेरिएको छ।







