मकवानपुर, असोज – मकवानपुर जिल्लाको कुलेखानी ड्याम केही घण्टामा भरिने अवस्थामा पुगेकोले गृह मन्त्रालयले बाढीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेको छ। कुलेखानी ड्यामको जलसतह अत्यधिक वृद्धि भएसँगै ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने चेतावनी दिइएको छ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालले कुलेखानी ड्यामदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने सम्भावना रहेको जनाएका छन्। उनले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
साथै, बाढी प्रतिकार्यमा खटिने सुरक्षाकर्मी र स्वयंसेवकहरूलाई हाइ अलर्टमा रहन भनिएको छ। सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई सुरक्षित स्थानको पूर्व तयारी गर्न समेत अनुरोध गरिएको छ।
बिहीबार रातिदेखिको अविरल वर्षाले ड्याम तथा नदीहरूको जलसतह तीव्र रूपमा बढेकोले बाढीको जोखिम बढ्दै गएको छ। यस्तो अवस्थामा स्थानीय बासिन्दाहरूलाई सुरक्षित रहन तथा आपतकालीन तयारी गर्न आग्रह गरिएको छ।








