नेपाल आयल निगमले चाडपर्वको मुखमा इन्धनको मूल्य घटाउने निर्णय गरेको छ। यससँगै उपभोक्ताहरूले राहत महसुस गर्ने विश्वास गरिएको छ। निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्यमा कमी गरेको हो।
आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर रु १, डिजेलमा रु २, मट्टीतेलमा रु २ र आन्तरिक उडानको हवाई इन्धनमा रु ६ घटाइएको छ। बाह्य उडानका लागि हवाई इन्धनमा प्रतिहजार लिटर रु ४५ घटाइएको छ।
निगमका अनुसार एलपी ग्याँसको मूल्य भने भारतबाट नेपाली रु ४१ बढेर आएको भए पनि, चाडपर्वलाई ध्यानमा राखेर हालको मूल्यलाई स्थिर राखिएको छ।
चाडपर्वको समयमा इन्धन आपूर्तिमा कुनै समस्या नआउने आश्वासन पनि निगमले दिएको छ। यस निर्णयले बढ्दो मुद्रास्फीति र बजारमा उपभोक्ताहरूले सामना गरिरहेका आर्थिक दबाबमा केही राहत दिने अपेक्षा गरिएको छ।







