फोटो:काठमाडौ खबर
काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ र ११ का पहिरो प्रभावित क्षेत्रहरूको अनुगमन गरेका छन्। शुक्रबार बिहान थापाले प्रभावित क्षेत्रमा पुगेर राहत र पुनःस्थापनाको काम छिट्टै अघि बढाउने प्रतिबद्धता जनाए।
थापाको सचिवालयले जानकारी दिएअनुसार, पहिरो गएको समयमा कांग्रेसका स्थानीय नेताहरूले त्रिपाल लगायतका अत्यावश्यक सामग्री तत्काल उपलब्ध गराएका थिए। तर, दीर्घकालीन समाधानका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा बुभ्न थापा अनुगमनमा गएको बताइएको छ।
अनुगमन टोलीमा थापासहित प्राविधिकहरू पनि सहभागी थिए, जसले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। वडा नम्बर ८ का इकाई सभापति राजाराम थापाले प्रभावितहरूसँग छलफल गरिएको र अब प्राविधिक सिफारिसअनुसार आवश्यक राहत वितरण गरिने जानकारी दिए।







