मुस्ताङ, असोज २९ – मुस्ताङको जोमसोममा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, जोमसोमबाट लेतेतर्फ गइरहेको ग१च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोम जाँदै गरेको मोटरसाइकल मंगलबार साँझ घरपझोङ-३ पुथाङ एअरपोर्ट नजिक ठोक्किँदा गोरखाका मोटरसाइकल चालकको ज्यान गएको हो।
दुर्घटनामा आरु चनौटे-९, गोरखाका ३२ वर्षीय सञ्जय खड्काको मृत्यु भएको हो। प्रहरीका अनुसार, खड्का काठमाडौंबाट अप्पर मुस्ताङको भ्रमणका लागि आएका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका खड्कालाई तुरुन्तै मुस्ताङ अस्पताल पुर्याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरे।
दुर्घटनापछि प्रहरीले कार चालक सुन्दर ट्वाटीलाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको छ।







