नेपालले पहिलो टी-२०आई खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ। नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रनमा रोकिएको थियो।
अमेरिकाका शायन जहाँगीरले ६० रनको अर्धशतकीय इनिङ खेल्दा पनि टीमलाई जित दिलाउन सकेनन्। आन्द्रेस गौसले ३० र मिलिन्द कुमारले २२ रन बनाएका थिए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने रिजन ढकाल, करण केसी र गुल्सन झाले एक-एक विकेट लिएका थिए।
नेपालले घरेलु टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए। उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर पाँचौं विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए। दीपेन्द्र २८ रनमा आउट भए। यसअघि, आसिफ शेख र अनिलकुमार शाहले नेपाललाई राम्रो सुरुआत दिलाउँदै ४८ रनको साझेदारी गरेका थिए, दुवैले २७-२७ रन बनाए।
नेपालको यो जितले टोलीलाई सकारात्मक सन्देश र थप आत्मविश्वास प्रदान गर्नेछ।







