राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको पक्राउको विरोधमा काठमाडौं र पोखरामा विरोध प्रदर्शनको तयारी गरेको छ। शनिबार बिहान ११ बजे पोखराको चिप्लेढुंगामा र दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन आयोजना गरिने पार्टीले जानकारी दिएको छ।
लामिछानेलाई सहकारीको बचत अपचलनको अभियोगमा शुक्रबार पक्राउ गरिएको थियो। उनलाई शुक्रबार राति नै पोखरा लगिएको थियो, जहाँ बिहान ३ बजे हिरासतमा राखिएको छ।
रास्वपाले यस घटनालाई राजनीतिक प्रतिशोधका रूपमा लिँदै विरोध प्रदर्शनको आह्वान गरेको छ। पार्टीले शुक्रबार नै विज्ञप्ति जारी गर्दै सभापति लामिछानेको पक्राउलाई ‘राजनीतिक पूर्वाग्रह प्रेरित कदम’ भन्दै घोर भर्त्सना गरेको छ। रास्वपाले विज्ञप्तिमा भनेको छ, “संसदीय छानबिन समितिले सहकारी ठगीमा लामिछानेको संलग्नता नरहेको पुष्टि गरिसकेको अवस्थामा, यो गिरफ्तारीलाई हामी राजनीतिक प्रतिशोधको रूपमा लिन्छौं।”
पार्टीको संस्थागत निर्णयअनुसार विरोध प्रदर्शन गरी लामिछानेको रिहाइको माग गरिने जनाइएको छ।







