मेड्रिड, स्पेन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वप्रसिद्ध फुटबल क्लब रियल मड्रिडको होम ग्राउण्ड सान्टियागो बर्नाबाउ रंगशालाको अवलोकन भ्रमण गर्नुभएको छ। स्पेनको औपचारिक भ्रमणका क्रममा उहाँले राजधानी मेड्रिडस्थित यस ऐतिहासिक रंगशालामा पुगेर क्लबका गतिविधि र रंगशालाको पूर्वाधारबारे जानकारी लिनुभएको हो।
प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागत गर्नुभयो र रंगशालाभित्रको संरचना, प्रविधि, दर्शक व्यवस्थापन प्रणाली, तथा क्लबको इतिहासबारे जानकारी गराउनुभयो।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आधुनिक प्रविधियुक्त यस रंगशालाको संरचनाबाट प्रभावित भएको बताउनुभएको थियो। उहाँले नेपालमा पनि खेलकुद पूर्वाधारको विकासमा सरकारी स्तरमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभएको सचिवालय स्रोतले जनाएको छ।
सान्टियागो बर्नाबाउ रंगशाला रियल मड्रिडको मात्र होइन, विश्वकै सर्वाधिक लोकप्रिय खेलमैदानहरूमध्ये एक मानिन्छ। यहाँ सयौं अन्तर्राष्ट्रिय प्रतियोगिता, च्याम्पियन्स लिगका ऐतिहासिक खेलहरू, तथा विश्वप्रसिद्ध खेलाडीहरूका सम्झनाहरू जोडिएका छन्।







