बुढानीलकण्ठ, काठमाडौं ।
बुढानीलकण्ठ नगरपालिकाले नदी, खोल्सा, ढुंगा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतसाधनको अनधिकृत उत्खनन, संकलन तथा चोरी निकासी विरुद्ध कडा कारबाहीको चेतावनी दिएको छ।
नगरपालिकाले शुक्रबार जारी गरेको सार्वजनिक सूचनामा मोटोजेन प्रयोग गरी खोल्साबाट बालुवा निकाल्ने, संकलन गर्ने वा बिक्री वितरण गर्ने जस्ता क्रियाकलापहरू कानूनविपरीत भएको प्रस्ट पारिएको छ। यस्ता कार्य तत्काल बन्द गर्न आग्रह गर्दै नगरवासीलाई सचेत गराइएको छ।
सूचनामा बागमती प्रदेश सरकार र बुढानीलकण्ठ नगरपालिकाको आर्थिक ऐन तथा प्रचलित खनिज स्रोतसम्बन्धी कानुनको उल्लङ्घन गर्नेहरूलाई दण्डनीय अपराधीको रूपमा कारबाही गरिने उल्लेख गरिएको छ।
सूचनामा भनिएको छ: “यदि कसैले अवैध रूपमा मोटोजेन प्रयोग गरी खोल्साबाट बालुवा निकालेको वा चोरी निकासी गरेको पाइएमा, सम्बन्धित व्यक्ति उपर कानूनी कारबाही हुने छ।”







