सुवास श्रेष्ठ  –

बूढानीलकण्ठ, काठमाडौं — बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि तयार पारिएको वार्षिक नगर विकास योजना तथा आर्थिक सर्वेक्षण २०८१/०८२ को सार्वजनिकरण विशेष कार्यक्रमबीच सम्पन्न गरेको छ। हात्तीगौंडास्थित नगर कार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन्।

नगरपालिकाले सार्वजनिक गरेको योजना अन्तर्गत वडा नं. १३ मा मात्र २६ करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरिएको छ। बस्ती विकास, शैक्षिक सुधार, स्वास्थ्य सेवा, बाटो, ढल, पुल, खानेपानी जस्ता आधारभूत सेवाका योजनाहरूलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

तर यो योजनालाई लिएर नेपाली कांग्रेसका स्थानीय नेताहरूले सामाजिक सञ्जालमार्फत कडा विरोध गरेका छन्। कांग्रेसका युवा नेता बद्री भट्टराईले “उदण्ड बजेट, दास बौद्धिकता र दरिद्र राजनैतिक संस्कार” भएको आरोप लगाउँदै योजनालाई ‘बूढानीलकण्ठ धज्जी कार्यक्रम’ को संज्ञा दिएका छन्।

त्यस्तै वडा नं. १३ का कांग्रेस सचिव दिनेश श्रेष्ठले ‘टोलटोलमा योजना संकलनको नाटक गर्दै बजेट आफ्नै कार्यकर्तालाई पोस्न प्रयोग गरिएको’ आरोप लगाएका छन्। अर्का कांग्रेसका क्षेत्रीय नेता महेन्द्र श्रेष्ठले जात्रामा अत्यधिक बजेट छुट्याएको भन्दै आलोचना गरेका छन्।

तर एमालेबाट निर्वाचित वडा अध्यक्षसहितका जनप्रतिनिधिहरूले यसप्रकारको आलोचनालाई “जनताको आँखामा झुटको धुलो हाल्ने प्रयास” भएको बताएका छन्। अध्यक्षले लेखेका छन् —

“यदि सामाजिक सञ्जालमा बसेर जनतामाझ म छैन भन्ने भ्रम फैलाउने हो भने शुभकामना। तर यदि गाम्चा, टुपेक, टुसाल, सापाटार जस्ता स्थानमा भूकम्पले भत्किएका मठमन्दिरहरू पुनर्निर्माण गर्दा कांग्रेसलाई टाउको दुखेको हो भने, जनता समक्ष आउनुस् — हामी लड्न तयार छौं।”

अध्यक्ष श्रेष्ठको प्रश्न: “जनताको मन्दिर बन्नु हुँदैन भन्नेको कांग्रेससँग लड्न तयार छु”

वडास्तरमै स्पष्ट प्रतिवाद: मन्दिर बनाउँदा किन कांग्रेसलाई आपत्ति?
बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का अध्यक्ष टीका नारायण श्रेष्ठ (एमालेबाट निर्वाचित) ले यसरी सामाजिक सञ्जालमै आलोचना गर्ने कांग्रेस नेताहरूलाई खुला चुनौती दिएका छन्।
उनले कांग्रेसका  नेता गगन थापा ( काठमाडौ क्षेत्र ४ बाट प्रतिनिधि सभामा निर्वाचित )  र न्हुच्छे नारायण श्रेष्ठ ( पुर्व बागमती प्रदेशसभा सदस्य ) समक्ष प्रत्यक्ष प्रश्न राखेका छन्:

“चुनिखेलका महान् ज्ञानी नेता — साना देखि ठूला भनौंदा नेतासम्म — सामाजिक सञ्जालमै ज्यादति गर्दै बोल्न थाल्नु भएको छ। यदि वडा अध्यक्ष जनताको माझमा छैन भनेर भ्रम फैलाउने हो भने, शुभकामना छ। तर मेरो प्रश्न– भूकम्पले थिलथिले भएका मठ–मन्दिर पुनर्निर्माण हुँदा किन कांग्रेसलाई टाउको दुखाइ? यदि तपाईंहरू जनताको बीचमा आएर भन्न सक्नुहुन्छ कि यी मन्दिर बन्नु हुँदैन, भने आउनुस् — लड्न तयार छौं।”

वडा अध्यक्ष देखि वडा सदस्यसम्म्ले यी विषयको प्रतिकार गरेको छ । गाम्चाको गणेश मन्दिर, टुपेकको भोय छें द्वार गणेश, टुसालको राधाकृष्ण र भद्रकाली मन्दिर तथा सापाटारको गणेश मन्दिरको पुनर्निर्माणलाई लिएर कांग्रेसको आपत्ति निराधार भएको बताएका छन्।

“जनताले मन्दिर चाहिएको भनिरहेका छन्, निर्माण रोक्न चाहने कांग्रेस जनप्रतिनिधिले जनमतको अपमान गरेका छन्,” उनी भन्छन्।

वडा सदस्य नगरकोटीको भनाइ: “मन्दिर जनताको सांस्कृतिक पहिचान हो” वडा सदस्य मंगल नगरकोटी लेख्छन्:

“हाम्रो गाउँ–ठाउँमा बाजे–बराजेले सुरु गरेका साँस्कृतिक परम्पराहरू आज पनि जिवित छन्। मन्दिर जनताको आस्था हो, विकाससँगै मठ–मन्दिर आवश्यक छ भन्ने बुझेर बजेट छुट्याइएको हो।यस्तोमा कोही–कोहीलाई टाउको दुख्नु दुखद् हो।” यो भनाइ र लेखाइ बूढानीलकण्ठ नगरपालिका कार्यक्षेत्र बनाएका काङ्ग्रेस नेता र कार्यकर्ता केन्द्रित हो यसमा कुनै दुईमत छैन  ।

यसपालिको योजनाले बूढानीलकण्ठ नगरपालिका वडा १३ अन्तर्गत बस्ती निर्माण, स्वास्थ्य चौकीको स्तरोन्नति, विद्यालय सुधार, खानेपानी विस्तार लगायतका कार्यहरूलाई केन्द्रमा राखेको बताइएको छ। “नयाँ बस्तीका कोलोनीहरू पुरा हुँदैछन्, पुराना बस्तीका संरचनात्मक विकास अन्तिम चरणमा छन्,” वडाले जनाएको छ। यसैबिच बूढानीलकण्ठ नगरपालिका वडा १३ का अध्यक्ष टीका नारायण श्रेष्ठले सामाजिक सञ्जालमा आलोचना मात्रै गर्ने नभई जनताको आवश्यकता र सरोकारमा आधारित वैकल्पिक योजना ल्याउन पनि कांग्रेस नेताहरुलाई चुनौती दिएको छ।

बूढानीलकण्ठ नगरपालिकाको विकास योजना सार्वजनिकसँगै नगरमा राजनीतिक ताप पनि बढेको छ। एकातिर जनप्रतिनिधि योजनाको प्रभावकारी कार्यान्वयनमा जुटेका छन् भने अर्कातिर कांग्रेस नेताहरूले योजना ‘एकपक्षीय र पक्षपाती’ भएको आरोप लगाएको छ । दुईदल केन्द्र  कोलेसन सरकार बनाएर बसेकोमा स्थानिय तहमा भने तिक्तता रहदा जनताबाट अब कस्तो प्रतिक्रिया पाउने हो हेर्न बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय