बूढानीलकण्ठ, काठमाडौं —
बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ मा नेपाली कांग्रेसले टोल टोलमा संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। वडा भित्रका सक्रिय कार्यकर्ताहरूलाई परिचयपत्र वितरण गर्नुका साथै, वडा तहमा विनियोजित बजेटको जानकारीसमेत जनतालाई प्रदान गरिएको छ।
यस अभियान अन्तर्गत नेपाली कांग्रेस बुढानीलकण्ठ–१३ का स्थानीय टोलहरूमा पुगेर इकाइ विस्तार कार्यलाई प्राथमिकतामा राखिएको छ। प्रत्येक टोलमा कमिटी निर्माणसँगै नयाँ सदस्यता वितरणसमेत गरिंदैछ, जसले संगठनात्मक रूपमा कांग्रेसलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
कार्यक्रममा नेपाली कांग्रेस बूढानीलकण्ठ–१३ का वडा सभापति भाइनारायण श्रेष्ठ, नगर सचिव बिजेन्द्र श्रेष्ठ, साथै बागमती प्रदेशका पूर्व सांसद न्युच्छे नारायण श्रेष्ठको विशेष उपस्थितिमा विभिन्न टोलीहरूले स्थानीयहरूलाई पार्टी नीतिहरू, बजेटको सदुपयोग तथा आगामी योजनाहरूको बारेमा जानकारी गराएका छन्।
कौडोल क्षेत्रका बासिन्दाहरूले पनि यस अभियानलाई सकारात्मक रूपमा लिँदै पार्टीप्रतिको विश्वास व्यक्त गरेका छन्। उनीहरूले स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र विकासका मुद्दामा कांग्रेसले खेलेको भूमिकाको सराहना गरेका छन्।
नेपाली कांग्रेस बूढानीलकण्ठले अब सम्झौता र मौन उपस्थितिभन्दा बाहिर निस्केर सशक्त र सशक्त संगठन निर्माणमा केन्द्रित हुने रणनीति लिएको देखिन्छ। यस अभियानलाई आगामी स्थानीय तह निर्वाचनको तयारीको रूपमा समेत हेरिएको छ।







