काठमाडौं, असोज २६ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का भातृ संगठन अनेरास्ववियू र युवा संघ नेपालले देशको आर्थिक पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका लागि ठूला दरका नोटहरूमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्।
अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठ र युवा संघ नेपालका संयोजक रोशन थापाले आइतबार संयुक्त रूपमा जारी गरेको १३ बुँदे मागपत्रमा ५ सय र १ हजार रुपैयाँका नोटको चलनचल्तीमा निश्चित समयसीमा तोकी रोक लगाउनुपर्ने उल्लेख गरिएको छ। उनीहरूले यस कदमले अवैध सम्पत्ति संकलन, कालो धन र गैरकानुनी कारोबार नियन्त्रणमा सहयोग पुर्याउने दाबी गरेका छन्।
विज्ञप्तिमा युवामुखी नीति निर्माण, व्यावसायिक अवसरको विस्तार, आधारभूत शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने तथा उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप व्यवसायलाई तीन वर्षसम्म कर छुट दिने मागसमेत गरिएको छ।
त्यसैगरी, नवप्रवर्तन र स्वरोजगार प्रवर्द्धनका लागि प्रदेशस्तरमा ‘बिजनेस इन्क्युबेशन सेन्टर’ स्थापना गर्न, साना तथा घरायसी व्यवसायहरूलाई कानूनी रूपमा दर्ता र सञ्चालन गर्न सहज वातावरण बनाउन आग्रह गरिएको छ।
श्रेष्ठ र थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ —
“देशको आर्थिक पुनरुत्थान युवाको हातमा निर्भर छ। त्यसैले सरकारसँग हामी युवालाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन दीर्घकालीन दृष्टिकोणसहितका नीति र कार्यक्रम अपनाउन आग्रह गर्छौं।”
दुवै संगठनले आर्थिक सुधार, रोजगारी सिर्जना र पारदर्शी प्रणाली निर्माणका लागि युवा पुस्ताको भूमिकालाई केन्द्रमा राख्दै ठूला नोटको नियन्त्रणलाई नयाँ आर्थिक दिशाको सुरुवातका रूपमा व्याख्या गरेका छन्।







