काठमाडौँ, असार २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले आफ्ना कर्मचारीहरूका लागि आजदेखि नैतिक आचारसंहिता लागू गरेको छ।
मुख्य अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार, आचारसंहिता लागू गर्नुको उद्देश्य अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तअनुसार कर्मचारीलाई राष्ट्रिय कानुन, सामाजिक र सांस्कृतिक मूल्यमा जिम्मेवार बनाउनु हो।
कोइरालाले सेवा प्रवाहलाई छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ र नतिजामूलक बनाउने लक्ष्यका साथ यो संहिता ल्याइएको बताए।
संहितामा अध्यागमन कर्मचारीलाई विदेश जान लागेका यात्रुलाई “शुभ यात्रा” र नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई “नेपालमा स्वागत छ, शुभ दिन” भन्ने निर्देश गरिएको छ।
त्यसैगरी, यात्रुसँग थोरै र आवश्यक प्रश्न मात्र सोध्ने, खाडी मुलुक लगायतमा श्रम गर्न जाने यात्रुसँग सम्मानजनक भाषा प्रयोग गर्ने, रूखो व्यवहार नगर्ने र बोलीमा आत्मीयता झल्काउने जस्ता व्यवहारलाई अनिवार्य गरिएको छ।
“विमानस्थल देशको मुहार हो,” कोइरालाले भने, “त्यसैले पर्यटकसँग बोली र व्यवहारमा आत्मीयता झल्किनुपर्छ।”
संहिताको कार्यान्वयन प्रभावकारी बनाउन यात्रुहरूले आफ्नो अनुभव तुरुन्तै व्यक्त गर्न सक्ने फिडब्याक व्यवस्था पनि गरिएको छ।
यो कदम अध्यागमन सेवामा सुधार ल्याउने र नेपाल भ्रमण गर्ने पर्यटकको पहिलो अनुभवलाई सकारात्मक बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।







