लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सहयोगको हात अघि सारेको छ। संघले पहिलो चरणमा बाढीपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीकाअनुसार आइतबार संघको भर्चुअल बैठकमा यो निर्णय लिइएको हो। बैठकमा संघका पदाधिकारीहरूबीच पीडितहरूको सहयोगमा जुट्न तत्काल कदम चाल्नुपर्ने निष्कर्षमा पुगेका थिए। अध्यक्ष केसीले देशभर बाढी र पहिरोको कारण धेरै परिवारहरू विस्थापित भएका र उनीहरूको पुनर्स्थापना तथा राहतका लागि तत्कालीन सहयोग आवश्यक रहेको बताए।
संघले आपतकालीन राहत वितरणका लागि विभिन्न जिल्लामा रहेका स्थानीय समितिहरू मार्फत आवश्यक सामग्रीहरू, खाद्यान्न, तथा आवासीय सहयोगहरू प्रदान गर्ने योजना बनाएको छ। संघका पदाधिकारीहरूले थप सहयोग संकलन र वितरणका लागि विभिन्न मुलुकमा रहेका एनआरएनहरूको सहभागिता र योगदानका लागि अपिल समेत गरेका छन्।
यस सहयोगले बाढीपहिरो प्रभावित नेपाली जनतालाई तत्काल राहत पुर्याउने विश्वास गरिएको छ।







